९ भदौ, वीरगञ्ज । विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा देखिएको सुस्तता र पूँजीको अभावका कारण मधेश प्रदेशमा उद्योग व्यवसाय बन्द हुने क्रम बढेको छ ।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशभर उद्योग र वाणिज्यतर्फका कुल एक हजार ९ सय ३८ वटा व्यापारिक फर्महरू बन्द (लगत कट्टा) भएका छन् । बन्द भएका व्यवसायमध्ये उद्योगतर्फ ८ सय २१ र वाणिज्यतर्फ एक हजार १ सय १७ वटा प्राइभेट तथा साझेदारी फर्महरू रहेका छन् । स्थानीय तहहरूमा पनि सोझै उद्योग दर्ता गराउने क्रम बढ्नु र वित्तीय सङ्कट चुलिनुलाई नै व्यवसाय बन्द हुनुको मुख्य कारण मानिएको छ ।
निराशाजनक रूपमा व्यवसायहरू बन्द भइरहे तापनि नयाँ उद्योग दर्ता र नवीकरणको प्रक्रिया भने जारी नै रहेको छ । मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार गत आव २०८२/८३ मा प्रदेशभर पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् भने सात हजार ५ सय ४० वटा उद्योगको नवीकरण गरिएको छ ।
नयाँ उद्योग दर्तातर्फ पर्सा जिल्ला सबैभन्दा अगाडि रहेको छ, जहाँ एक हजार १ सय १ वटा उद्योग थपिएका छन् । यसैगरी धनुषामा ७ सय ७७, बारामा ६ सय ३९, सर्लाहीमा ६ सय ३६, सिरहामा ५ सय ५४, रौतहटमा ५ सय ३३, महोत्तरीमा ५ सय १४ र सप्तरीमा ३ सय १४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
वाणिज्य क्षेत्रतर्फ पनि दर्ता र नवीकरणको अवस्था उत्साहजनक नै देखिएको छ । समीक्षा अवधिमा वाणिज्यतर्फ ६ हजार १२२ वटा नयाँ प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म दर्ता भएका छन् भने ११ हजार १ सय ४४ वटा फर्महरूको नवीकरण सम्पन्न भएको छ ।
नयाँ उद्योग तथा वाणिज्य फर्मको दर्ता, नवीकरणलगायतका विभिन्न प्रशासनिक शीर्षकहरूबाट मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल पाँच करोड २६ लाख ४९ हजार ५ सय ६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सुस्त आर्थिक गतिविधिको बिचमा पनि नयाँ फर्म दर्ता हुनुले उद्योगी-व्यवसायीमा आशा कायम रहेको देखाए पनि ठूलो सङ्ख्यामा पुराना फर्महरू बन्द हुनुले भने प्रादेशिक अर्थतन्त्र गम्भीर दबाबमा रहेको प्रस्ट्याउँछ ।
