वीरगंज,९ भदौ — पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडासहित एक कारोबारीलाई पक्राउ गरेको छ।
जिराभवानी गाउँपालिका–१ स्थित बलुवा टोलबाट भन्सार छली भारतबाट ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काँसघारी र धानखेतमा लुकाएर राखिएको १२ पोका कपडा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सेढवा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बीओपी महादेवपट्टीको संयुक्त टोलीले भारतको भङ्गहाबाट अवैध रूपमा भित्र्याइएको कपडा बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्त अधिकारीका अनुसार बरामद कपडाको अनुमानित बजार मूल्य करिब १० लाख रुपैयाँ रहेको छ। पक्राउ परेका कारोबारीको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
बरामद गरिएको अवैध कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
