८ भदौ, काठमाडौं । इरानको संसद्ले होर्मुज स्ट्रेट हुँदै जाने अनुमति प्राप्त देशका जहाजहरूबाट समुद्री सेवाबापत शुल्क लिने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।
इरानको संसद्बाट पारित भएको यो व्यवस्थाअनुसार अब त्यस्ता जहाजहरूलाई शुल्कको बदलामा सुरक्षा, बिमा, वातावरणीय सेवा तथा विशेष परिस्थितिमा इन्धनलगायतका सुविधाहरू उपलब्ध गराइनेछ ।
यसबीच, अमेरिकाले इरानमाथि आर्थिक दबाब अझ तीव्र पारिने संकेत गरेको छ । अमेरिकी अर्थमन्त्रीले ट्रम्प प्रशासन इरानविरुद्धको आर्थिक युद्धको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै इरानको आम्दानीका मुख्य बाटाहरू बन्द गर्न सबै सरकारी निकाय र अधिकारहरूको प्रयोग गरिने बताएका छन्। साथै, ट्रम्प प्रशासनले यसअघि नै होर्मुज क्षेत्रलाई अमेरिकी नियन्त्रणको भूभागका रूपमा समेत प्रस्तुत गरिसकेको छ ।
तनावको यो स्थितिमा इरानले पनि चेतावनी दिँदै यदि अमेरिकाको आर्थिक दबाब जारी रहे यस क्षेत्रबाट तेल निकासी रोक्न सक्ने र प्रतिबन्धमा अमेरिकालाई साथ दिने खाडी देशहरूको आर्थिक हितलाई समेत निशाना बनाउन सकिने जनाएको छ ।
दुई पक्षीय बढ्दो तनावका कारण रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग थप जोखिमपूर्ण र दुई फरक मार्गमा विभाजित बन्ने अवस्थामा पुगेको छ ।
