रौतहट । रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा कसुरदार ठहर भई लामो समयदेखि सजाय भुक्तान नगरी फरार रहँदै आएका १३ जना प्रतिवादीहरूलाई बुधबार एकैसाथ पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनका लागि चलाइएको विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूबाट खटिएको टोलीले उनीहरूलाई जिल्लाका फरक-फरक स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई सजाय भुक्तानका लागि रौतहट जिल्ला अदालत, गौरमा पेस गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरू विद्युतीय अपराध, लागूपदार्थ, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार तथा बहुविवाहसम्बन्धी कसुरका दोषीहरू रहेका छन् ।
पक्राउ परेका १३ जनाबाट अदालतको फैसला बमोजिम कुल ५ वर्ष ३ महिना २३ दिन कैद सजाय र १ लाख १८ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जसमा लागूऔषध मुद्दाका दोषीलाई १ वर्ष १० महिना ६ दिन कैद र ९० हजार रुपैयाँ जरिवाना, बिगो मुद्दाका दोषीलाई २ वर्ष कैद, बहुविवाहका दोषीलाई १ वर्ष २ दिन कैद, विद्युतीय अपराधका दोषीलाई २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तथा चोरी र अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरूलाई समेत कैद तथा जरिवाना तोकिएको थियो ।
प्रहरीले फरार अपराधीहरूलाई कानुनी दायरामा ल्याउने यो अभियानलाई आगामी दिनमा अझ तीव्र र प्रभावकारी बनाइने स्पष्ट पारेको छ ।
