काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक/उपसेनानी) पदका लागि ठुलो संख्यामा विज्ञापन खुलाएको छ । जंगीअड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्धार पदपूर्ति गर्ने गरी २८० जनाका लागि विज्ञापन खुलाएको हो ।
माग गरिएको कुल दरबन्दी मध्ये खुला तर्फ सबैभन्दा बढी १४६ जनाको सिट छुट्याइएको छ । समावेशीतर्फ आदिवासी जनजातिका लागि ३९, मधेशीका लागि ३३, महिलाका लागि २४, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको कोटा निर्धाराण् भएको छ ।
यसैगरी सैनिक तालिम वा कतव्र्य पालनको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट सुरक्षित गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले सेनाको आधिकारिक वेबसाईटमार्फत अनलाईन फारम भरी तोकिएको केन्द्रमा उपस्थित भएर दरखास्त बुझाउनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक उम्मेदवारले असोज २७ गतेसम्म नियमित दस्तुरमा र सो अवधिमा छुटेकाले असोज २८ गतेदेखि कात्र्तिक ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने छन् ।
दरखास्त दिनका लागि शैक्षिक योग्यता न्यूनतम प्रमाणपत्र तह (कक्षा १२) वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ। स्नातक तह वा सोसरह उत्तीर्ण गरेकाले पनि यस पदमा आवेदन दिन पाउनेछन्।
१८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै स्नातक तह उत्तीर्ण गरेकाको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको उमेर समूह तोकिएको छ।
बहालवाला सैनिक उम्मेदवारले भने २६ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्। यसका साथै पुरुषको उचाइ न्यूनतम ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने शारीरिक योग्यता तय गरिएको छ।
