१४ साउन,वीरगञ्ज । नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच पाँच बुँदे सहमति भएपछि नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरूको आन्दोलन अन्त्य भएको छ। सहमतिसँगै नारायणी अस्पतालमा रोकिएका स्वास्थ्य सेवासमेत पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।
चिकित्सकमाथि भएको दुर्व्यवहार र घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै वीरगञ्जबाट सुरु भएको आन्दोलन देशव्यापी बनेको थियो। लामो संवाद र समन्वयपछि मंगलबार मन्त्रालय र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो।
सहमतिअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. मनिज गुप्ता र स्वास्थ्यमन्त्री निशा मेहताबीच करिब १० मिनेट प्रत्यक्ष टेलिफोन संवाद गराएका थिए। उक्त संवादले समाधानको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ता निष्कर्षविहीन बनेपछि चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकमाथि कारबाही नगरी वार्तामा नबस्ने अडान लिएको थियो।
समस्या समाधानका लागि सांसद पन्त तीन दिनदेखि काठमाडौंमा रहँदै स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव र गृह सचिवसँग निरन्तर समन्वयमा सक्रिय थिए। उनले मंगलबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमै करिब आधा घण्टा छलफल गरी समाधानको पहल गरेका थिए।
टेलिफोन संवादका क्रममा नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. गुप्ताले स्वास्थ्यमन्त्री मेहतासमक्ष पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा तथा घटनामा दोषीमाथि कानुनी कारबाही नै चिकित्सकहरूको मुख्य ‘बटमलाइन’ रहेको स्पष्ट पारेका थिए।
आन्दोलनका कारण केही दिनदेखि बिरामीले उपचार सेवामा कठिनाइ भोग्नुपरेको थियो। समस्या समाधान भएसँगै नारायणी अस्पतालका सबै सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।
यसैबीच सांसद हरि पन्तले आन्दोलनका कारण वीरगञ्जवासी र सर्वसाधारणले भोग्नुपरेको स्वास्थ्य सेवाको असुविधाप्रति क्षमा व्यक्त गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही हुने विश्वाससमेत व्यक्त गरेका छन्।
