काठमाडौं । अज्ञानताको अन्धकारलाई चिर्दै ज्ञानको ज्योति फैलाउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै आज मङ्गलबार देशभर गुरुपूर्णिमा पर्व धूमधामका साथ मनाइँदैछ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वको दिन हो ।
संस्कृत शब्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी मानिसको जीवनबाट अज्ञानतारूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाशले सही मार्गनिर्देश गर्ने व्यक्तित्वलाई नै गुरु भनिन्छ । हिन्दु धर्मशास्त्रहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रूपमा उच्च स्थान दिँदै ‘आचार्यदेवो भवः’ भनिएको छ ।
आजका दिन श्रद्धालुहरूले आफूलाई गायत्री मन्त्र, वेद मन्त्र, शिक्षा र जन्मदेखि मृत्युसम्मको संस्कार सिकाउने गुरुजनलाई प्रत्यक्ष भेटेर, टेलिफोन वा सामाजिक सञ्जालमार्फत भक्तिभावपूर्वक नमन, पूजा-अर्चना र आशिर्वाद लिने गर्छन् ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र अठार उपपुराणका रचनाकार महर्षि वेदव्यासको जन्म भएको मानिन्छ। यसैकारण आजको दिनलाई ‘व्यास जयन्ती’ का रूपमा पनि मनाउने परम्परा छ ।
त्यस्तै, बौद्ध परम्पराअनुसार भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि भारतको सारनाथमा आफ्ना पहिलो पाँच शिष्यहरूलाई ‘पहिलो धर्मदेशना’ ९धम्मचक्कप्पवत्तन० दिएको दिन पनि आजै मानिन्छ । जैन धर्ममा पनि यस दिनलाई संयम, आत्मशुद्धि र गुरुप्रतिको समर्पणका रूपमा मनाउने गरिन्छ ।
आधुनिक समयको परिवर्तनसँगै आजभोलि विद्यालय, कलेज तथा आश्रमहरूमा विशेष कार्यक्रम आयोजना गरी गुरुहरूलाई मिठो परिकार खुवाउने र भौतिक उपहार दिएर सम्मान व्यक्त गर्ने चलन छ।
