२८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ स्थित गौतम माध्यमिक विद्यालयमा प्रवेश परीक्षा तथा विद्यालय परिसरमा भएको भीडभाडका क्रममा उत्पन्न विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान भएको छ। विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको छलफलपछि दुवै पक्षले भविष्यमा सुमधुर सम्बन्ध कायम राख्दै यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।
सहमति–पत्रअनुसार नयाँ शैक्षिक सत्र २०८३ वैशाख १६ गतेदेखि विद्यालय सञ्चालन भइरहेको अवस्थामा वैशाख २१ गते प्रवेश परीक्षा सञ्चालन गरिएको थियो। सोही दिन वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी सामुदायिक संस्थाद्वारा विद्यालय बाहिर नाला सफाइ अभियान चलिरहेकाले विद्यालय परिसर वरपर अभिभावकहरूको भीडभाड बढेको उल्लेख गरिएको छ।
उक्त भीडभाडका बीच कक्षा ८ र १० का केही विद्यार्थी प्रवेश–कार्ड साथमा नल्याई विद्यालय पुगेपछि केही समय कक्षाबाहिर बस्नुपर्ने अवस्था सिर्जना भएको थियो। यस घटनापछि अभिभावक र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको थियो।
विद्यालय प्रशासनले सम्बन्धित विद्यार्थी तथा अभिभावकसँग उचित संवाद गरी सहज रूपमा कक्षामा प्रवेश गराउन नसकिएको स्वीकार गर्दै खेद व्यक्त गरेको छ। साथै, घटना नियतवश नभई परिस्थितिजन्य भएको स्पष्ट पार्दै भविष्यमा यस्ता त्रुटि नदोहोऱिने प्रतिबद्धता जनाएको छ।
दुवै पक्षबीच आपसी समझदारी, सहमति र मेलमिलापका आधारमा विवाद समाधान गरिएको छ। सहमति–पत्रमा विद्यालयका तर्फबाट ललित कर्ण र रमेश कुमार शर्मा तथा अभिभावक पक्षबाट पिन्टु रौनियार र सन्तोष पटेलले हस्ताक्षर गरेका छन्।
उक्त सहमति वीरगञ्ज महानगरपालिका–१२ का वडा अध्यक्ष नरेश प्रसादको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।



