सिरहा । सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाएसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसहित करिब ३ लाख मूल्य बराबरका सामग्री नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नं. ७ गणअन्तर्गतको सीमा सुरक्षा गुल्म, माडरबाट खटिएको विशेष टोलीले सीमा नाकाबाट अवैध रूपमा ओसारपसार भइरहेका ती सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमध्ये ‘स. ८ प १२३४’ नम्बरको नेपाली मोटरसाइकलको मूल्य मात्र २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
त्यसबाहेक, करिब २० हजार रुपैयाँ मूल्य बराबरको मदिरा र २५ हजार २८५ रुपैयाँ मूल्यका विभिन्न पेय पदार्थसहितका अवैध सामग्री बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिए। “सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी रोक्न हामीले गस्ती र निगरानी बढाएका छौँ,” उनले भने ।
पछिल्लो समय नेपाल-भारत सीमा नाका हुँदै भइरहेको सानातिना तस्करीलाई निरुत्साहित गर्न सरकारले नयाँ नीति लागू गरेको छ । भारतबाट १०० रुपैयाँ बराबरको सामान ल्याउँदा पनि अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएपछि सशस्त्र प्रहरीले सिमानाकामा थप कडाइ गरेको हो ।
विगतमा भन्सार छली हुने गरेका यस्ता साना-ठूला सामानहरूलाई नियन्त्रणमा लिन थालेसँगै सीमा क्षेत्रमा तस्करीका घटना घट्ने र राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिएको छ ।



