पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय पर्साअन्तर्गतका वन क्षेत्रमा लागेको डढेलो एक साता बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । लामो समयदेखि जारी आगलागीका कारण करोडौं मूल्य बराबरका काठ, बोटबिरुवा र जडीबुटी नष्ट हुनुका साथै जङ्गलसँग जोडिएका दर्जनौं बस्तीमा स्वास्थ्य संकट सिर्जना भएको छ ।
पर्साका विभिन्न सब(डिभिजन वन कार्यालयहरू – वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर तथा निकुञ्जका महादेव पोस्ट, चारभैया पोस्ट, गडुवा लाइन पोस्ट र निर्मल बस्ती पोस्ट क्षेत्रमा भीषण आगलागी भइरहेको छ ।
साथै, पञ्चमुखी सामुदायिक वन र कुसुम बाटिका मध्यवर्ती सामुदायिक वन क्षेत्र पनि डढेलोको चपेटामा परेका छन् । स्थानीयवासीका अनुसार, एक सातादेखि वन क्षेत्रमा फैलिएको आगोले वनस्पतिलाई खरानी बनाएको छ ।
जङ्गलमा लागेको डढेलो नियन्त्रणमा नआउँदा निस्किएको धुवाँको मुस्लोले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । निर्मल बस्ती, सुवर्णपुर, महादेवपट्टि, सेढवा, सङ्करसरैया, गादी, सुनबर्सा र बिरुवागुठीलगायतका दर्जनौं गाउँका बासिन्दा धुवाँको मारमा परेका छन् ।
विशेषगरी बिहानीपख धुवाँले आकाश नै अँध्यारो हुने गरेको स्थानीयले बताएका छन् । धुवाँका कारण आँखा पोल्ने, आँखा रातो हुने र श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। “धुवाँको असरले खासगरी मुटुका रोगी र वृद्धवृद्धालाई सास्ती भइरहेको छ,” स्थानीय रामखेलावनले भने, “वन कार्यालय र निकुञ्ज प्रशासनले समयमै ध्यान नदिँदा हामीले लामो समयदेखि यो सास्ती भोग्नुपरेको छ।”
डढेलो नियन्त्रणका लागि सम्बन्धित निकायले पर्याप्त पहल नगरेको स्थानीयको आक्रोश छ । यद्यपि, डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने आफूहरू डढेलो नियन्त्रणका लागि सक्रिय रहेको दाबी गरे ।
“हामीले जहाँ(जहाँ आगो लागेको सूचना पाएका छौं, त्यहाँ तुरुन्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, साझेदारी समूहका सदस्य र वन रक्षकको टोली परिचालन गरेका छौं,” अहमदले भने ।
उनले भौगोलिक विकटताका कारण सबैतिर एकैपटक नियन्त्रण गर्न कठिन भएको भन्दै आगो निभाउन कर्मचारी र सुरक्षाकर्मी मात्र पर्याप्त नहुने र स्थानीयको सक्रिय सहभागिता अनिवार्य रहेको जिकिर गरे ।
सरकारी निकायको ढिलासुस्तीको गुनासो आइरहँदा केही सामुदायिक वनमा भने उपभोक्ताहरू आफैं जुटेका छन् । पञ्चमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव फनैतका अनुसार, नेपाली सेना र स्थानीय उपभोक्ताहरूको निरन्तर प्रयासले कतिपय ठाउँको आगो नियन्त्रणमा आइसकेको छ। “हामी आफैं जुटेर आगो निभाउने प्रयास गरिरहेका छौं, केही स्थानमा सफलता पनि मिलेको छ,” उनले भने ।



