वीरगञ्ज । पर्सा प्रहरीले गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरूको साथबाट प्लास्टिक बाहेक ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
प्रहरीका अनुसार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट क्षेत्रमा नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत–नेपाल आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई संकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो।
वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूको कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा पेट तथा छातीको भागमा रातो प्लास्टिकमा खैरो डोरीले बेरी लुकाइछिपाइ राखिएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



