पर्सा । पर्साको जिराभवानी गाउँपालिकामा गएराति भएको आगलागीमा परी एक परिवारको नगदसहित लाखौँको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ बलुवाटोलस्थित स्थानीय मोटर मुखिया बिनको घरमा राति ११:३० बजे आगलागी भएको हो ।
प्रहरीका अनुसार लामखुट्टे धपाउन बालिएको ‘घुर’ बाट अचानक आगो सल्किएर घरमा फैलिएको थियो । आगलागीमा परी घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र १२ थान सुनचाँदीका गहना जलेर खरानी भएका छन् । यस्तै, गोठमा रहेका चारवटा बाख्रा र एउटा गाईको समेत जलेर मृत्यु भएको छ ।
पीडित मोटर मुखिया बिनका अनुसार दुई दिनअघि मात्रै छिमेकी लघुवित्त विकास बैंकबाट घर बनाउनका लागि ऋण स्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगद समेत जलेर नष्ट भएको छ । “घर बनाउने सपना बुनेर ऋण ल्याएको थिएँ, आगोले सर्वस्व लुट्यो,” पीडित बिनले भावविह्वल हुँदै बताए ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार आगलागीको जानकारी पाउनासाथ स्थानीय बासिन्दा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) महादेवपट्टीको टोली घटनास्थलमा पुगेको थियो ।
सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।



