वीरगञ्ज । पत्रकारिता क्षेत्रमा बढ्दो लापरवाही र आचारसंहिता उल्लंघनका घटनाले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। सञ्चारकर्मीहरूले आचारसंहिताको कडाइका साथ पालना नगरे पत्रकारिताले वर्षौँदेखि आर्जन गरेको साख गुम्ने खतरा तीव्र बन्दै गएको भन्दै सरोकारवालाहरूले चेतावनी दिएका छन्।
नेपाल पत्रकार महासंघ पर्साद्वारा ७१औँ स्थापना दिवसको अवसरमा आयोजित “जिम्मेवार पत्रकारिता र पत्रकार आचारसंहिता” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पत्रकारितामा देखिएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन्। कार्यक्रम महासंघका केन्द्रीय सचिव अशोक तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले स्पष्ट शब्दमा भने—पत्रकारिता जिम्मेवार नबने यसले लोकतन्त्रकै आधार कमजोर बनाउनेछ। लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको नेपाल पत्रकार महासंघको साख जोगाउन नसके यसको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने चेतावनीसमेत दिइयो।
कार्यक्रममा केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, पूर्व सचिव तथा विश्व पत्रकार महासंघ एशिया–प्रशान्तका सचिव दीपेन्द्र चौहान, पर्साका पूर्व अध्यक्षहरू शंकर खतिवडा र सत्रुघ्न नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुल्सी भण्डारी लगायतले पत्रकारितामा बढ्दो गैरजिम्मेवारी, पक्षपात र आचारसंहिता उल्लंघनप्रति असन्तुष्टि जनाए।
उनीहरूले चेतावनी दिए—यदि महासंघ स्वयंले आफ्नै आचारसंहिता कार्यान्वयन गर्न सकेन भने पर्सामा कार्यरत पत्रकारप्रति जनविश्वास तीव्र रूपमा घट्नेछ र समग्र सञ्चार क्षेत्र नै अविश्वसनीय बन्ने जोखिम बढ्नेछ।
कार्यक्रम महासंघ पर्साका सचिव विजय चौहानले सञ्चालन गरेका थिए।



