चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउँदै १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशु सेवा विभागका अनुसार संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, चल्ला, अण्डा तथा दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको हो ।
भरतपुरको एक व्यावसायिक फार्ममा कुखुराहरू एकाएक मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो । संक्रमण देखिएलगत्तै प्राविधिक टोलीले उक्त फार्मलाई केन्द्रविन्दु मानी आसपासका क्षेत्रमा ‘किलिङ, डिस्पोजल र डिसइन्फेक्सन’ प्रक्रिया सुरु गरेको छ । रोग नियन्त्रणका लागि प्रभावित फार्म वरपरको निश्चित दुरीभित्र रहेका सबै पक्षीहरू नष्ट गरी खाडलमा पुरिएको छ ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रलाई ‘नियन्त्रित क्षेत्र’ घोषणा गरी कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसारमा अस्थायी प्रतिबन्ध लगाएको छ । पशु सेवा विभागका अधिकारीहरूले बर्ड फ्लु अत्यन्तै संक्रामक र घातक भएकाले समयमै नियन्त्रण नगरे पोल्ट्री क्षेत्रमा ठुलो आर्थिक क्षति हुन सक्ने चेतावनी दिएका छन् ।
यसैबिच, जिल्ला प्रशासन कार्यालय चितवनले सम्पूर्ण किसान तथा व्यवसायीहरूलाई उच्च जैविक सुरक्षा अपनाउन आग्रह गरेको छ । कुखुरामा असामान्य व्यवहार देखिएमा, अचानक मृत्यु भएमा वा रोगका अन्य लक्षणहरू देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।
सरकारले बर्ड फ्लुका कारण क्षति व्यहोरेका किसानहरूलाई प्रचलित मापदण्डअनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाएको छ । रोग नियन्त्रणका लागि आवश्यक प्राविधिक जनशक्ति, औषधि र अन्य सामग्रीहरू प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको मन्त्रालय स्रोतले बताएको छ ।



