काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल यतिबेला प्रहरीको हिरासतमा पुगेका छन् । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका पूर्वप्रशासक आफैँ दमन र भ्रष्टाचारको गम्भीर आरोपमा तानिएका हुन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यो गिरफ्तारीको सिधै कनेक्सन गत भदौमा भएको जेनजी आन्दोलनसँग जोडिएको छ, जतिबेला रिजाल काठमाडौंको कमान्ड सम्हालिरहेका थिए । आन्दोलनकारीमाथि निर्मम दमन गरेको आरोप लागेपछि उनी एक महिना पनि नटिक्दै जिम्मेवारीबाट बाहिरिनुपरेको थियो ।
रिजालको पक्राउ केवल एउटा कर्मचारीको बर्हिगमन मात्र होइन, बरु यो ठूलो राजनीतिक भूकम्पको परकम्प जस्तो देखिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दोषी ठहर्याउँदै कारबाहीका लागि सिफारिस गरेपछि उनी कानुनी फन्दामा परेका हुन् ।
रोचक कुरा त के छ भने, सोही आयोगको प्रतिवेदनका आधारमा यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् । लेखकका विश्वासपात्र मानिने रिजालको पक्राउले शक्ति केन्द्रहरूको आडमा भएका निर्णयहरूको मूल्य चुकाउनुपर्ने सन्देश दिएको छ ।
प्रशासकीय कमान्डमा रहँदा रिजालमाथि लागेको दाग दमनमा मात्र सीमित छैन । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदा उनले कर्मचारी प्रशासनलाई नै व्यापारिक अखडा बनाएको आरोप अख्तियारको अनुसन्धानले देखाएको छ ।
आकर्षक मानिने अध्यागमन र अन्य कार्यालयहरूमा कर्मचारी पठाउँदा आर्थिक लेनदेन र पेशागत आचरण विपरीत काम गरेको अभियोग उनीमाथि छ । तत्कालीन गृहमन्त्रीका स्वकीय सचिवहरूसँगको सेटिङ र अध्यागमनका अधिकारीहरूसँगको अस्वाभाविक साँठगाँठको फेहरिस्त अहिले विशेष अदालत र अख्तियारको टेबुलमा पुगेको छ ।



