काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा खाली गर्न सात दिने सूचना जारी गरेपछि त्रसित सुकुम्बासी समुदायलाई आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले साथ दिने घोषणा गरेका छन्।
मेयर बालेन शाहले डोजर प्रयोग गरेर सुकुम्बासी हटाउने चेतावनी दिइरहेका बेला, आजपा अध्यक्ष साहले यस्तो कार्य कानून विपरीत भएको र त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
सोमबार काठमाडौंको कोटेश्वरमा आयोजित ‘सुकुम्बासी बस्तीमाथि भइरहेको षड्यन्त्र रोक्न
भन्ने विषयमा आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघद्वारा आयोजना गरिएको खबरदारी कार्यक्रममा बोल्दै साहले भने, सुकुम्बासीलाई हटाउने होइन, बसोबास गरिरहेकै क्षेत्रमा व्यवस्थित रुपमा पक्की घर बनाएर दिनुपर्छ।”
उनले संविधान र कानूनले सबै नेपालीलाई बस्ने, खाने र रोजगारी गर्ने अधिकार दिएको भन्दै बालेनको डोजर आतंक कुनै हालतमा स्वीकार्य नहुने साहले बताए।
साहले भने सुकुम्बासीलाई आतंकित बनाउने कार्य बन्द गर्नुस्।”
ललिता निवासजस्ता जग्गा भूमाफियाले कब्जा गर्न सक्ने तर सुकुम्बासीलाई पक्की घर बनाउन नसक्ने बालेनको शासनप्रति उनले प्रश्न उठाए। रौतहटको मौलापुरमा मेयर रिना साहले दलितलाई पक्की घर बनाएर दिएको उदाहरण दिँदै उनले भने,शासकको राम्रो नियत भयो भने सुकुम्बासी समस्या एक महिनाभित्र समाधान हुन्छ।
साहले थपे, शासकको कुकर्मले कोही सुकुम्बासी बनेका छन्, कोही हुकुम्बासी। यदि सुधार भएन भने हामी जस्तोसुकै प्रतिकार गर्न तयार छौं।
उनले सुशीला कार्की नेतृत्वको सरकारमाथि पनि टिप्पणी गर्दै भने, “यो सरकारले भूमी आयोग नै खारेज गरेर तमासा देखाइरहेको छ।”
कार्यक्रममा साहले महानगरका अन्य जनप्रतिनिधिहरूमाथि पनि मौन रहनुको कारण प्रश्न गरे। “बालेन मात्र होइन, उपमेयर, वडा अध्यक्ष, सदस्यहरू पनि छन्—तिनीहरू किन मौन छन्? कांग्रेस र एमालेको धारणा के हो, जनताले जान्न पाउँन्,” उनले भने।
साहले सुकुम्बासी, कबाड व्यवसायी र फुटपाथ व्यवसायीहरूलाई एकजुट भई बालेनको हर्कतविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरे। उनले भने, “कानून विपरीत हुने कार्यका विरुद्ध हामी तयार अवस्थामा छौं।”
कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापा मगरले “प्रभु साहको मौलापुर विकास मोडेल” अनुसार देशको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीले साहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्ने घोषणा गरे।
आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा प्रवक्ता चन्द्रभुषण साह, सचिवालय सदस्य सुभाष साह, कबाड व्यवसायी संघर्ष समितिका रामकेवल गुप्ता, सुकुम्बासी संघका अमर लिम्बु, मानसिंह गजेल, महेन्द्र खड्का, शान्ता थापामगर, अर्जुन कुमार, सुजन पराजुली, हरि सुवेदी, नरबहादुर बराइलीलगायतले सम्बोधन गरेका थिए।
कार्यक्रमकै क्रममा समाजसेवी महेन्द्र खड्का आजपामा प्रवेश गरेका छन्। अध्यक्ष प्रभु साहले उनलाई टिका, माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन्।
