वीरगञ्ज । बारामा लागू औषध खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले बिहीबार साँझ प्रसौनी गाउँपालिका–३, नौतनस्थित सडकखण्डबाट सो व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार साँझ करिब साढे ४ बजे प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले वीरगञ्जबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एक पुरुषलाई शंकास्पद ठानी जाँच गर्ने क्रममा उनी भाग्ने प्रयास गरेपछि लखेटेर नियन्त्रणमा लिएको थियो ।
समातिएका व्यक्ति पर्सा जिल्ला, पटेर्वा सुगौली गाउँपालिका(३, सानो देउती निवासी रामचन्द्र दासका छोरा ४२ वर्षीय रामाशंकर दास भएको प्रहरीले जनाएको छ।
प्रहरीले दासको खानतलासी गर्दा उनको पाइन्टको बाँया गोजीमा कागजमा बेरेर राखिएको खैरो रङको पदार्थ फेला पारेको हो । प्रारम्भिक परीक्षणमा उक्त पदार्थ लागूऔषध ‘खैरो हिरोइन’ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। बरामद हिरोइनको तौल १९.७८० मिलिग्राम रहेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दासलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ ।
