जनमत पार्टी पर्साले हाल पर्सा जिल्लाभर ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीले वीरगन्ज महानगरका विभिन्न वडासँगै ग्रामीण पालिकाहरूमा पनि संगठन विस्तारका कामलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छ।
युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगन्ज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा ‘जेन्जी जनमत संघ’ गठन भइसकेको छ।
उनका अनुसार कार्तिक महिनाभित्र जिल्लाका सबै वडामा संगठन गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, जनमत पार्टीले सञ्चालन गरेको ‘जेन्जी मतदाता दर्ता अभियान’ पनि पर्साको वीरगन्ज महानगरसहित सात वटा पालिकामा जारी रहेको जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।
अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता रहेको बताउँदै प्रदेश सदस्य बृजेश्वर चौधरीले जगरनाथपुर गाउँपालिका लगायतका ग्रामीण क्षेत्रमा समेत अभियान उत्साहजनक रूपमा अघि बढिरहेको बताए।
जनमत पार्टी पर्साको यो सक्रियता आगामी राजनीतिक गतिविधि र संगठन विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
