वीरगञ्ज । नेपाल सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाको सम्मान स्वरूप आज (बुधबार) देशभर राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको व्यहोरा जानकारीका लागि प्रकाशित गरिएको छ।”
यस क्रममा देशभरका सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक निकाय र विदेशस्थित दूतावासरनियोगहरू बन्द रहनेछन् । साथै, राष्ट्रिय झन्डा आधा झुकाइ पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न भनिएको छ । सरकारको यो निर्णयले प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा शोकसंतप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य लिएको बताइएको छ।



