काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदबहाली गर्ने भएकी छन् । प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार आइतबार बिहान ११ बजे नयाँ प्रधानमन्त्रीले पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।
प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न उच्च तहका कर्मचारीहरूलाई बिहानैदेखि बोलाइएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका उपसचिव गणेश कर्माचार्यका अनुसार कार्की शुक्रबार साँझदेखि नै बालुवटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी हुन्।
शुक्रबार शपथग्रहणपछि निजी निवासमा फर्कन चाहनुभएकी कार्कीलाई सुरक्षाकर्मीहरूले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्री निवासमै बस्न सुझाव दिएका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो कार्यालयमा आगलागी हुँदा बचेका सामग्रीहरू नयाँ भवनमा लगेर प्रयोग गर्न थालिएको छ। मुख्यसचिव एकनारायण अर्याललगायतका उच्च अधिकारीहरूले गृह मन्त्रालय परिसरमा निर्माण भएको नयाँ भवनलाई प्रधानमन्त्रीको कार्यालयका लागि उपयुक्त ठहर गरेका थिए। सो भवनमा सरसफाइ, सजावट तथा अन्य व्यवस्थापन कार्य पूरा भइसकेको छ।



