काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः कारागार फर्किएका छन्। जेनजी आन्दोलनको दबाबमा रिहा भएका उनले आइतबार आफैँ घोषणा गर्दै कारागार प्रवेश गरेका हुन् ।
लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले साथ दिए । कारागार प्रवेशअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गर्दै लामिछानेले आफूलाई बदनाम गर्ने प्रयास भएकोमा दुखेसो पोखे ।
उनले भने, “मलाई बदनाम गर्न देशभरका कैदीहरू मेरो कारण जेलबाट भागे भन्ने भ्रम फैलाउन खोजिएको छ ।” यसका बाबजुद, उनले कानूनी प्रक्रियाप्रति आफ्नो आस्था कायमै रहेको र त्यसैले स्वेच्छाले कारागार फर्किएको बताए ।
यसअघि, सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको मागसहित सुरु भएको जेनजी आन्दोलनले देशभर ठूलो दबाब सिर्जना गरेको थियो । सोही आन्दोलनको प्रभावस्वरुप सरकारको निर्णयपछि लामिछानेसहित केही नेताहरू रिहा भएका थिए ।



