काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो राजधानीमा चर्किएको प्रदर्शनको बीच लामिछानेलाई जेलबाट स्वतन्त्र रूपमा बाहिर ल्याइएको पुष्टि भएको छ।
सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थुनामा रहेका लामिछाने आज अपराह्न प्रदर्शनकारीहरूको समूहद्वारा जेलबाट निकालिएपछि उनले तुरुन्तै उपस्थित जनसमूहलाई सम्बोधन गरेका थिए। उनको उक्त भाषणको भिडियो रास्वपाकी केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।
भिडिओमा लामिछानेले आन्दोलनरत युवाहरूको साहस, बलिदान र प्रतिबद्धताको प्रशंसा गर्दै अब यो अभियानलाई थप संगठित बनाउने प्रतिवद्धता जनाएका छन्।“तपाईंहरूकै कारण आज म यहाँ छु। अब यो आन्दोलन अझ बलियो बनाउनु छ। हामी सत्ताको ढोका ढकढक्याउने मात्र होइन, भत्काउने छौं,“ लामिछानेले भिडिओमा भनेका छन्।
रवि लामिछाने हालै सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा रहेका थिए। तर, आन्दोलनकै क्रममा भएको यो घटना न्यायिक प्रकृयामा प्रत्यक्ष हस्तक्षेपको रूपमा हेर्ने कि राजनीतिक क्रान्तिको अंशका रूपमा हेर्ने भन्नेमा मत विभाजित देखिएको छ।
कानुनी र सुरक्षा निकायहरूबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आइसकेको छैन।रास्वपाका समर्थक र अन्य सामाजिक अभियन्ताहरूले लामिछानेको रिहाइलाई जनताकै जित भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्। यता, केही कानुनी विशेषज्ञहरूले भने यो कदमले विधिको शासनमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।



