काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको मागसहित दायर गरिएको निवेदनमा आज जिल्ला अदालत रूपन्देहीमा पेसी तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो बिगोबराबरको रकम जमानतमा राखेर रिहा हुन पाउनुपर्ने माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिसकेको दाबी गरेका छन् ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन् । आजको पेसीले उनको भविष्यबारे महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
