प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरेका छन्।बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताए।अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीजीले अस्तिनै २/४ पटक खोक्नुभयो । गज्जवसँग खोक्नुभयो । खोकेको भन्छन के त्यसलाई । कुराले खोकेको नि । उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाईन्छ । दलीय आधारमा हुँदैन भनेर । अहिले जुट सर्टलिष्ट उहाँहरुले बनाउनु भएको छ । योग्यजतिलाई छाड्नुभएको छ । गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेकाहरु, अयोग्य हुनेपछि पनि योग्य नहुने, यस्ता ठाउँमा जिम्मेवारी दिन नहुने भनिएकाहरु, नचाहिने काम गरेकाहरु ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरु त्यस्ताहरुको सटिङ गरेर अब उहाँको मेरिटोक्रेसी पहिला नै देखियो ।
गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरु हुनुपर्ने भन्ने देखिसकियो । छानिएका मानिसहरुलाई मैले केही भन्नु छैन ।’उनले थपे- मैले प्रधानमन्त्रीजीलाई भनेको थिए उहाँले खोकी राखेको बेला । मेरिटोक्रेसीको गफ दिएर हिँड्नुभएको थियो । त्यसबेला मैले भनेको थिए–तपाईले छनौट समितिबाट बनाउने भन्नुभएको छ । छनौंट समिति चाहीँ कस्तो हुन्छ ?
कसको बनाउनु हुन्छ ? आफ्नै मान्छे राखेर छनौट समिति बनाउने । उहाँहरु तरिका के गर्नुहुन्छ भने एउटा नाटक मञ्चन गर्नुहुन्छ । अहिले एउटा गैरआवासीय नेपालहरुको ४ वटा अधिवेशन भइसक्यो । जहिले पनि काँग्रेसले लफडा गरेको छ ।’अध्यक्ष ओलीले गैर आवासीय नेपाली संघको निर्वाचनमा नेपाली काँग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्याए।



