वीरगञ्ज । हिन्दु धर्मावलम्बीको लागि विशेष महत्व राख्ने श्रावण महिनाको पहिलो सोमबारको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो भीड देखिएको छ।
बिहानैदेखि पोशाकमा सजिएका महिला तथा पुरुष भक्तजनहरू हातमा पूजाका सामग्री, बेलपत्र, धूप, अक्षता, दूध, जल तथा फलफूल बोकेर मन्दिरमा दर्शन र पूजाका लागि पुगिरहेका छन् ।
श्रावण महिनाको सोमबारलाई भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिन्छ । यस दिन व्रत बस्दै शिवलिंगमा जल, दूध र बेलपत्र चढाई भगवान शिवको कृपा प्राप्त हुने विश्वास रहिआएको छ ।
वीरगञ्जको पशुपतिनाथ मन्दिरमा मधेश प्रदेश तथा भारतको सीमावर्ती क्षेत्रहरूबाट समेत भक्तजनहरू आएका छन् । मन्दिर परिसरमा सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ भने श्रद्धालुको सहजताका लागि स्वयंसेवक तथा प्रहरी परिचालन गरिएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार श्रावण महिनाभर सोमबार विशेष पूजा, अभिषेक र धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। समितिले भक्तजनहरूलाई अनुशासन र स्वच्छता कायम गर्दै पूजा–अर्चनामा सहभागी हुन आग्रह गरेको छ । श्रावणको पहिलो सोमबारदेखि नै देखिएको भक्तिभाव र सहभागिताले वीरगञ्जको धार्मिक वातावरण थप उल्लासमय बनेको छ ।
