काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सिस्टममा समस्या देखिएपछि सेवा अवरुद्ध गरिएको जानकारी दिएको हो ।
विभागका अनुसार इ(ड्राइभिङ लाइसेन्स (EDL), अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट सेवा समेत हाल पूर्ण रूपमा बन्द छन् । सेवा कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्नेबारेमा भने स्पष्ट नभएको जनाइएको छ ।
“आज मिति २०८२ असार २० गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएको छ । समस्या समाधानको प्रक्रिया जारी छ, अर्को सूचना नआएसम्म सबै सेवा बन्द रहनेछ,” विभागको सूचनामा उल्लेख छ ।
यो निर्णयसँगै नयाँ लाइसेन्स आवेदन, नवीकरण, प्रिन्ट तथा अन्य सबै प्रक्रिया प्रभावित भएका छन्। सेवाग्राहीहरूलाई असुविधा भएको भन्दै विभागले क्षमायाचना समेत गरेको छ ।
समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने प्रष्ट नभएपछि सेवाग्राहीहरूमा अन्योल बढेको छ। विभागले सेवा पुनः सञ्चालनमा आउँदा थप जानकारी सार्वजनिक गर्ने बताएको छ ।
