काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा ओलीले प्रतिस्पर्धाको प्रणालीमा कसैको बहुमत नभएको अवस्थामा सरकार परिवर्तन स्वभाविक भएको भन्दै अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिनुभएको हो । दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता नलाग्ने तर १४ महिनापछि सरकार परिवर्तन गर्दा अस्थिरता भयो भन्न नमिल्ने उहाले बताउनुभयो ।
ओलीले ७० सालको चुनावपछि कांग्रेसले पटक पटक अरुलाई धोका दिदै आएको भन्दै कांग्रेसले बाचा बन्धनमा अडिएको, इमानको खानी, बेइमानी नगर्ने भन्दा आश्चर्य लागेको धारणा राख्नुभयो । कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्रीको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको उहाले बताउनुभयो ।
सरकार परिवर्तन नेपालका दलहरु मिलेर गरेकाले यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक नरहेको उहाको भनाइ छ । अध्यक्ष ओलीले देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेश फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्तिहरु देखा परेकाले देशलाई केन्द्रमा राखेर न्याय र समनाताको प्राप्तिका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले सञ्चारमाध्यममा आएजस्ता प्रधानमन्त्रीमा भागबण्डा नभएको दावी गर्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अन्तरराष्ट्रिय मान्यता, पीडितमैत्री र सर्वोच्च अदालतको फैसलाका आधारमा अघि बढ्न निरन्तर प्रतिबद्ध रहेको उहाले बताउनुभयो ।
