वीरगञ्ज । चिसो हावापानी र सितलहरको प्रभाव तीव्र रूपमा बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले आजदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरको हो ।
यसअघि पनि महानगरले पुस २४ देखि २६ सम्म र माघ २ देखि ४ सम्म दुई पटक जाडो विदा दिएको थियो । तर, यसपटकको विदा चिसोले थप प्रभाव पारेपछि लम्ब्याइएको हो । महानगरको निर्णयले अभिभावकहरू र केही विद्यालयका प्राध्यापकहरू बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । उनीहरूले यस निर्णयलाई विद्यार्थीहरूको स्वास्थ्यप्रति संवेदनशील कदमका रूपमा लिएका छन् ।
यद्यपि, महानगरपालिकाको निर्णय सबै विद्यालयहरूले पालना नगरेको पाइएको छ । विशेषगरी, कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि नियमित पठन-पाठन जारी राख्ने केही विद्यालयहरूको कदमले अभिभावकहरूको चासो बढाएको छ ।
त्यसैगरी, केही निजी विद्यालयहरूले बाहिरी कपडा लगाएर विद्यार्थीहरूलाई बोलाएर पढाउने गरेको गुनासो अभिभावकहरूले गरेका छन् । चिसोको समयमा यस्तो कार्यले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्ने हुँदा अभिभावकहरूले यसलाई गैरजिम्मेवार कदमका रूपमा लिएका छन् ।
महानगरले विद्यालयहरूलाई स्पष्ट रूपमा जाडो विदाको पालना गर्न निर्देशन दिएको भए पनि यसको उल्लङ्घन गर्ने विद्यालयहरूमाथि कुनै पनि कारबाही नगरेको देखिएको छ । आदेश उल्लङ्घन गर्ने विद्यालयहरूको संख्या बढ्दै जाँदा महानगरको कार्यान्वयन क्षमताप्रति प्रश्न उठ्न थालेको छ ।
विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई रोक्न महानगरले विदाको घोषणा गरे पनि विद्यालयहरूबाट आदेशको अवज्ञा हुनु र त्यसप्रति महानगरको मौनताले समस्या थप जटिल बनाएको छ ।
अभिभावकहरूले जाडो विदाको आदेशलाई प्रभावकारी बनाउनेतर्फ महानगरलाई जोड दिएका छन् । उनीहरूले विद्यालय हरूको अनुगमन गरी आदेशको उल्लङ्घन गर्ने विद्यालयहरूमाथि कारबाही गर्न माग गरेका छन् । चिसोको समयलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक भएको भन्दै अभिभावकहरूले महानगरको ध्यानाकर्षण गराएका छन् ।
