काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वा राहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारबिरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उहाले बताउनुभयो । त्यस्तै उहाले सरकारले अर्थतन्त्र चलाउनमान गराउन नसकेको, अन्तराष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताउनुभयो । बैठकले सहकारी पीडित हरुको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।
