वीरगञ्ज । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको विवादका कारण पर्साको बहुदरमाई नगरपालिका ठप्प प्रायः बनेको छ । नगर प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाबीचको विवादका कारण चार महिनादेखि कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूले तलब, पारिश्रमिक र अन्य सेवा सुविधा नपाउँदा नगरपालिकाको सेवा ठप्प प्रायः भएको हो ।
साउन महिनादेखि तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको दैनिक जीवनयापन गर्नमा समेत कठिनाइ आइरहेको छ । उनीहरू आर्थिक सङ्कटमा परेका छन् ।
नगरपालिकाका १८ सामुदायिक विद्यालयका १९० शिक्षक, ९ स्वास्थ्य चौकीका ४७ स्वास्थ्यकर्मी, र ७५ कर्मचारीको मासिक तलब १ करोड १८ लाख रुपैयाँ हुन्छ । तर, प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको अख्तियारी नदिएपछि साउनदेखि रकम वितरण हुन सकेको छैन ।
नगर सभाबाट बजेट पारित भए पनि प्रमुख तेलीले बजेट खर्च रोक्दै प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई अख्तियारी दिन अस्वीकार गरेका छन् । बजेट खरिद केन्द्रित भएको आरोप लगाउँदै प्रमुख तेलीले अख्तियारी दिन अस्वीकार गर्दै आएका छन् । “६० प्रतिशत खरिदमा केन्द्रित छ । प्रमुख प्रशासकीय अधिकृतले राजनीति गरिरहेका छन्,” प्रमुख तेलीले भने ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने कानुनी प्रक्रिया अनुसार काम भइरहेको बताउँदै प्रमुखले नगर सभाको निर्णयबिना योजनामा दबाब दिएको आरोप लगाएका छन् । “वडा नम्बर ६ को योजना नगरबाट चलाउन दबाब आयो । तर, नगर सभाको निर्णयबिना सम्भव छैन,” उनले भने ।
तलब नपाएका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले नगरपालिकाका अधिकांश वडाहरूको पठनपाठन, स्वास्थ्य सेवा र प्रशासन ठप्प पारेका छन् । शिक्षक सङ्घ पर्साका अध्यक्ष तिर्थराज यादवका अनुसार, तलब नपाए पुस १ गतेदेखि नगरभरका सबै विद्यालय बन्द गरिनेछ ।
“विद्यार्थीको पढाइ ठप्प हुनु गम्भीर विषय हो । समस्या समाधान गर्न हामी पनि लागिपरेका छौँ । तर यसको मुख्य जिम्मेवार व्यक्ति नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले तदारुकता देखाउन जरुरी छ,” उनले भने ।
वडाध्यक्ष र उपमेयर सुष्मा कुशवाहले पनि मेयरको निर्णय प्रक्रियालाई दोष दिँदै कामकाज ठप्प भएको बताएका छन् । “मेयरले कामकाज ठप्प पार्न अख्तियारी दिएका छैनन् । यो जनविरोधी कदम हो,” उपमेयर कुशवाहले भनिन् । वडाध्यक्षहरूका अनुसार, मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच पुरानो विवाद अझै सुल्झिन सकेको छैन ।
स्वास्थ्य चौकीहरूमा औषधिको अभाव छ । वडा कार्यालयहरू बन्द हुँदा प्रशासनिक सेवा अवरुद्ध भएको छ । स्थानीयले मेयरको नेतृत्वलाई जनताको समस्याप्रति संवेदनशील नभएको आरोप लगाएका छन् ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचको विवाद समाधान नभएसम्म बहुदरमाई नगरपालिकाको सेवा सञ्चालनमा आउन असम्भव देखिन्छ ।
स्थानीय जनप्रतिनिधिहरू र नागरिकहरूले मेयर सिंहासन साह तेलीलाई जिम्मेवारी बोध गरी तत्काल समन्वयकारी भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । समस्या समाधानका लागि तत्काल कदम चाल्नु नगरपालिकाको स्थायित्व र जनताको हितका लागि अनिवार्य देखिन्छ ।
