वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पोखरिया अस्पताललाई ५० शय्यामा विस्तार गरी प्रादेशिक अस्पताल बनाउने निर्णयप्रति हर्ष व्यक्त गरेका छन् ।
बिहीबारको सङ्घीय मन्त्रिपरिषद् बैठकले १५ शय्याको पोखरिया अस्पताललाई स्तरोन्नति गर्दै ५० शय्याको प्रादेशिक अस्पतालमा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।
मन्त्री क्षेत्रीले यो निर्णयले पर्सावासीको स्वास्थ्य सेवा थप सहज बनाउने विश्वास व्यक्त गर्दै पोखरिया अस्पतालको स्तरोन्नतिका लागि आफूले प्रदेशसभा बैठकदेखि सङ्घीय सरकारका सरोकारवाला व्यक्तिहरूसँग निरन्तर प्रयास गरेको बताए ।
उनका अनुसार, पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह र हालका सङ्घीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पटक-पटक ध्यानाकर्षण गराएपछि यो निर्णय सम्भव भएको हो । क्षेत्रीले स्वास्थ्य मन्त्री पौडेलको पहल र काँग्रेसी नेतृत्वको समर्थनका कारण मन्त्रिपरिषद्ले यो निर्णय पारित गरेको उल्लेख गरे ।
मन्त्री क्षेत्रीले पर्सावासीको हितमा योगदान पुर्याउने सबै सांसद, राजनीतिक दल र सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै यस निर्णयलाई सफलतामा बदल्न सबै पक्षले साथ दिनुपर्नेमा जोड दिए । पोखरिया अस्पतालको विस्तारले क्षेत्रीय स्वास्थ्य सेवामा नयाँ युगको आरम्भ गर्ने विश्वास लिइएको छ ।
