काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।
त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । २०६१ बैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।
