काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो ।
गएराति एक बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलरमट्टीतेलमा समान दुई रुपैयाँ, हवाई इन्धन आन्तरिक मा ६ रुपैयाँ तथा बाह्यमा प्रति हजार लिटरमा ४५ रुपैयाँले घटाएको जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि मुख्य चाडपर्वलाई लक्षित गरी तत्कालका लागि यथावत् राखिएको निगमले जनाएको छ । साथै आयल निगमले पर्वका बेला इन्धनको आपूर्तिमा कुनै समस्या नहुने दाबी गरेको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरू लाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपाल गन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल एक सय ४४ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल एक सय ४६ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने त्यस्तै डिजेल र मट्टीतेल एक सय ४७ रूपैयाँ पर्नेछ ।



