वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाट पुलबाट सिर्सिया नदीमा हाम फालेकी बालिकाको शव भेटिएको छ । गत आईतबार वडा नम्बर ११ र २४ जोड्ने रानीघाट स्थित सिर्सिया पुलबाट हाम फालेकी १७ बर्षीया किशोरीको शव आज विहान नदी किना।मा फेला परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १७ बर्षीया छोरी राधिका कुमारी दास आइतबार नदिमा हाम फालेकी थिइन् । तीन दिनपछि मंगलबार (आज) बिहान रानीघाट पुलबाट १५० मिटर तल ती बालिकाको शव फेला परेको भारतीले जानकारी दिए ।
सिर्सिया नदिमा हाम फालेपछि उद्दारका लागि प्रहरी परिचालन गरिए ता पनि नदीमा पानीको बहाव बढेका कारण समस्या भएको थियो । बालिकाले नदिमा हाम फाल्नुको कारण अझै पत्ता नलागेको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।



