काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एकसिट पनि नभएका व्यक्तिहरु प्रधानमन्त्री बन्छु भन्दै हिड्ने गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफु पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरु हिड्ने गरेको बताउनुभएको हो ।
अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उहाले बताउनुभयो । उहाले एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाउनुभयो । उहाले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो ।
