काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले लोसपा परित्याग गर्दै नयाँ अभियान घोषणा गर्नुभएको हो । उहाले अभियानमा आउन लोपसालाई पनि आह्वान गर्नुभएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उहाले जानकारी दिनुभयो ।
पहिचानवादीहरु एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको उहाले बताउनुभयो । उहाले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
अहिले अभियानकोमात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उहाको भनाइ छ । महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सवै नेपालीको लागि बन्न नसकेको तर्क गर्नुभयो ।



