काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनेको बताउनुभएको छ । बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुशासनका लागि आफु नेतृत्वको सरकारले गरेको काम सह्य नभएकाले षडयन्त्र र अपारदर्शी ढंगले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनेको बताउनुभएको हो ।
उहाले अहिलेको सरकारले बिचौलियाको हितमा नै काम गर्ने जिकिर गर्नुभयो । उहाले सरकार छाड्दा आफ्ना कुरालाई सशक्त रुपमा सदनमा राखेको र बिजेताका रुपमा बाहिर आएको उल्लेख गर्नुभयो । पछिल्लो समय बिभिन्न प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिदा नयाँ परिस्थीति सिर्जना भएको कुरा जनताले राम्रोसंग बुझेको उहाले बताउनुभयो ।
प्रचण्डले नकारात्मक परिघटनाबाट पार्टी पुननिर्माणका साथै पार्टी विस्तार गर्ने अवसर प्राप्त भएको पनि बताउनुभयो । उहाले संविधानमा जनताले प्राप्त गरेको उपलब्धी उल्ट्याउने खतरा रहेको भन्दै आवश्यक परे जनतालाई फेरि लिएर सडक र संसदबाट प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारबाट बाहिर आएको अवस्थामा कुनै आक्रोशको ढंगले प्रस्तुत नहुने बताउनुभयो । उहाले वर्तमान सरकारले अहिलेको उपलव्धीलाई रक्षा गर्नुको साटो मुलुकलाई पश्चगमततर्फ लैजाने चर्चा हुन थालेको जिकिर गर्नुभयो ।
आफु र प्रचण्डबीच फाटो ल्याउने प्रयास गर्ने काम तीव्र हुन थालेको भन्दै कुनै भ्रममा नपर्न उहाले आग्रह गर्नुभयो । उहाले अध्यक्ष प्रचण्डले ३५ वर्ष पार्टीको अध्यक्षता गरेको अवस्थमा नेतृत्व हस्तान्तरण गर्न चाहे आफु तयार रहेको भन्दै अहिलेको अवस्थामा भने रुपान्तरणको प्रक्रियाको नेतृत्व पार्टी अध्यक्षले नै गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।



