काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परी ११ जनाको मृत्यु भएको छ । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । मृत्युहुने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मृत्युहुने मा स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुईरदुर्ई, पाल्पा, तनहुँ, उदयपुर र काठमाडौंमा एकरएक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एकरएक जना बेपत्ता छन् ।
घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ ।
कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
