काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको धज्जी उडाउने चालकहरूमाथि प्रहरीले निगरानी कडा पार्दै पछिल्लो २४ घण्टामा ठूलो कारबाही चलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको ताजा विवरणअनुसार शनिबार मात्रै विभिन्न कसुरमा ४७० जना सवारी चालकहरूलाई कारबाहीको दायरामा ल्याइएको छ ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै प्रहरीले सडक अनुशासन पालना नगर्नेमाथि विशेष रूपमा कठोर कदम चालिरहेको छ ।
कारबाहीमा परेकाहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी हाँक्ने ११५ जना र मादक पदार्थ सेवन (मापसे) गरी स्टेयरिङ सम्हाल्ने ९९ जना चालक रहेका छन् ।
त्यस्तै, सडकमा जडान गरिएका सिसी क्यामेराको निगरानीबाट ४० जना, तोकिएको रातो बत्ती (रेड लाइट) को बेवास्ता गरी गाडी हुइँकाउने ३७ जना, ‘वान वे’ विपरीत चलाउने ७ जना र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउने ९ जना चालक कारबाहीमा परेका छन् । यसबाहेक, लेन अनुशासन पालना नगर्ने र अन्य विभिन्न किसिमका ट्राफिक नियम उलङ्घन गर्ने १६१ जना चालकलाई पनि जरिवाना तिराइएको छ ।
प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैँको विशेष अवसरलाई लक्षित गर्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ तथा निगरानी तीव्र बनाएको छ ।
मानवीय क्षति र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना अनिवार्य गराउने उद्देश्यले यो अभियान निरन्तर जारी रहने प्रहरीले स्पष्ट पारेको छ ।
