जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा पारिवारिक विवादका बिच हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान्ले आत्महत्या गरेको दुःखद घटना सार्वजनिक भएको छ। घटनामा उनीहरूका चार वर्षीय नाबालक छोरा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुराली पुगेर आफ्नी ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।
उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेको र सोही राति १:५० बजेको समयमा सुतिरहेका श्रीमती र छोरामाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार प्रहरी पुग्दा रिनाको घाँटीमा धारिलो हतियारले काटिएको र उनी घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन् ।
आक्रमणबाट दाहिने तिघ्रामा गम्भीर चोट लागेका चार वर्षीय छोरा सम्राटलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनास्थलबाट प्रहरीले रगत लतपतिएको चक्कु बरामद गरेको छ ।
घटनापछि फरार उमेशको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक रिना र उमेश दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घटनाको मुख्य कारणबारे पारिवारिक असमझदारी रहेको आशङ्का गरिएको र थप गहन अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
