काठमाडौं । अमेरिकाको ओहायो राज्यमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका नेपाली मूलका व्यवसायी ५२ वर्षीय तारा सिन्चुरीको गोली प्रहार गरी बीभत्स हत्या भएको छ । दसैँको उल्लासमा परिवार र समुदायसँग खुसी साटासाट गरिरहेका बेला भएको यस अकल्पनीय र दुःखद घटनाले उनको परिवारका साथै स्थानीय नेपाली तथा दक्षिण एसियाली समुदायलाई स्तब्ध बनाएको छ ।
मङ्गलबार दिउँसो ओहायोको फेयरफिल्डस्थित आफ्नै गहना तथा कपडा पसलभित्र सिन्चुरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । पसलमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेको फेयरफिल्ड प्रहरी टोलीले सिन्चुरीलाई पसलभित्रै मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटनालाई लुटपाटको उद्देश्यले गरिएको हत्याका रूपमा हेरिरहेको छ ।
घटनालगत्तै स्थानीय प्रहरीले आसपासका अन्य व्यावसायिक प्रतिष्ठानमा जडान गरिएका सीसीटीभी क्यामेराका दृश्यहरू सङ्कलन गरी सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।
आक्रमणकारीको पहिचान, घटनाको मुख्य उद्देश्य तथा लुटपाटमा अन्य ककसको संलग्नता थियो भन्नेबारे गहन अनुसन्धान भइरहेको र दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन् ।
मृतक तारा सिन्चुरीको परिवार मूलतः भुटानबाट विस्थापित भई लामो समयसम्म नेपालका शरणार्थी शिविरमा बसेको थियो। पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०१२ मा उहाँ श्रीमती र छोराछोरीसहित अमेरिका पुग्नुभएको थियो ।
अमेरिका पुगेपछि कडा मेहनतका साथ आफ्नै व्यवसाय खडा गर्नुभएका सिन्चुरीको असामयिक र दुःखद निधनले प्रवासी नेपाली समुदाय शोकमा डुबेको छ । एजेन्सी
