काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने धार्मिक तथा पारिवारिक भ्रमणका क्रममा आज (शुक्रबार) छिमेकी मुलुक भारत जाने भएका छन् । सभापति लामिछानेको यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक तीर्थाटन रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भारत भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित शक्तिपीठ कामाख्या मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक यात्रा पूरा गरी सभापति लामिछाने आगामी कात्तिक ९ गते स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ ।
