सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा तीव्र गतिका मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले दिएको जानकारीअनुसार गए राति भएको उक्त दुर्घटनामा मलङ्गवा–११ गम्हरिया निवासी ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। मोटरसाइकलको गम्भीर ठक्करबाट घाइते भएका रायको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको अनियन्त्रित ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन् । घाइते महतोको अहिले प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
