काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्र्याएर कुशेऔँसी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शास्त्रानुसार आजका दिन उखेलिएको कुश वर्षभर उपयोग गर्न सकिने तर अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न सकिने मान्यता रहेको छ। सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजनीय मानिन्छ ।
आजैको दिन छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मीठो भोजन तथा वस्त्र उपहार दिई आदर(सम्मान प्रकट गर्ने र ‘बुबाको मुख हेर्ने’ गर्छन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप जीवित बाबुलाई श्रद्धापूर्वक सम्मान गरी आशीर्वाद लिनाले सुख(शान्ति मिल्ने विश्वास गरिन्छ ।
बाबु दिवङ्गत भइसकेकाहरूले भने तीर्थस्थलहरूमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। यस दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई विशेष पुण्य पर्वका रूपमा लिइन्छ ।
विशेष गरी उत्तरगयाका रूपमा परिचित काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दिवङ्गत बाबुको नाममा तर्पण र पिण्डदान गर्ने भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्छ। यसै कारण आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
उता रसुवा र नुवाकोटको सङ्गमस्थल मानिने ऐतिहासिक तीर्थस्थल बेत्रावतीमा पनि आजका दिन तर्पण र पिण्डदानका लागि श्रद्धालुहरूको उपस्थिति रहने गरे पनि यस वर्ष भोटेकोशीमा आएको भीषण बाढीका कारण मेलाको अनिश्चितता बढेको छ ।
