चितवन । मकवानपुरको मनहरि गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले भाबरस्थित भित्री सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
भाबर क्षेत्रबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले जाँचका लागि रोक्न खोज्दा पिकअप भाग्न खोजेको थियो। प्रहरीले तत्कालै पिकअपलाई नियन्त्रणमा लिई खानतलासी गर्दा कारको भित्री सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको १३ वटा पोकामा कुल १६२ किलो ७९४ ग्राम गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप गाडीले गाँजा बोकेको कारलाई अगाडि(अगाडि रहेर ‘स्कर्टिङ’ गर्दै सुरक्षित रूपमा लैजाने प्रयास गरेको खुलेको छ । बरामद गाँजा, दुवै सवारीसाधन र चालकहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
