काठमाडौं । गत भदौ १० गतेको विनाशकारी बाढी झेलिसकेका रसुवा र नुवाकोट जिल्लामा पुनः आकस्मिक बाढी (फ्ल्यास फ्लड) को ‘उच्च सम्भावना’ रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
महाशाखाले आज (बुधबार) बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार रसुवा र नुवाकोट भई बहने भोटेकोसी, त्रिशूली तथा तिनका सहायक स-साना नदीहरूमा जलसतह एकाएक बढेर आकस्मिक बाढी आउने उच्च जोखिम देखिएको हो । हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूसहित यस क्षेत्रमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ ।
विशेषगरी नारायणी बेसिनअन्तर्गत पर्ने त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह अस्वाभाविक रूपमा बढेर जोखिमको तहसम्म पुग्न सक्ने महाशाखाको अनुमान छ। यसका साथै बुढीगण्डकी, मर्स्याङ्दी र सेती नदीमा पनि बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सुझाइएको छ।
तीन दर्जनभन्दा बढी जिल्लामा मध्यम जोखिम
महाशाखाका अनुसार आजै देशका तीन दर्जनभन्दा बढी जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ। जसअनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर) सहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको मध्यम सम्भावना छ।
यसैगरी, कर्णाली र सुदूरपश्चिमका रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका स(साना नदीहरूमा पनि बहाव बढेर आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती बेसिनका नदीहरूमा आगामी तीन दिनसम्म जलसतह निरन्तर बढ्दो क्रममा रहने भएकाले नदी किनारका बस्ती, निर्माणाधीन आयोजना तथा सडक आवतजावतमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
