काठमाडौं । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले बिरामी बोक्ने अस्पतालको भ्यानमा राखेर तस्करी गर्न लागिएको ६० किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका-१६ स्थित दरैया कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको सुरक्षा टोलीले मङ्गलबार राति ११:०० बजेको समयमा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार ‘दिव्य ज्योति अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई शङ्का लागेर सुरक्षाकर्मीको टोलीले रोक्न खोजेको थियो। तर, सशस्त्र प्रहरीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी सडकमै छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए ।
चालक फरार भएपछि सुरक्षा टोलीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्लाष्टिकले प्याक गरी राखिएको अवस्थामा करिब ६० किलोग्राम गाँजा फेला परेको छ ।
अस्पतालको नाम र लोगो प्रयोग गरेर सुरक्षाकर्मीको आँखा छल्दै भारततर्फ गाँजा तस्करी गर्न खोजिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बरामद गरिएको भ्यान र ६० किलो गाँजालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य तीव्र पारिएको छ ।
