काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेको आशङ्का गरिएकाहरूको खोजी कार्यमा कुनै पनि मानवीय उपस्थिति फेला परेको छैन । बाढीको जोखिमका कारण आयोजनाबाट हराइरहेका ९३ जना कामदारहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको थियो ।
सैनिक नेतृत्वमा इन्जिनियर तथा ड्रोनसहित खटिएको उद्धार टोलीले सुरुङको भित्री भाग तथा अन्तिम बिन्दुसम्मै पुगेर खोजतलास गरेको थियो । सुरुङभित्र ड्रोनसमेत उडाएर गरिएको कसिलो खोजीका क्रममा पनि भित्र कोही पनि मानिस नरहेको पुष्टि भएको नेपाली सेनाले जनाएको छ ।
सुरुङभित्र मानवीय उपस्थिति नरहेको र सबै क्षेत्रको गहिरो निरीक्षण सम्पन्न भएसँगै खोजी कार्य टुङ्ग्याइएको छ । त्यसपश्चात् उक्त क्षेत्रमा खटिएको नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ ।
