१२ भदौ, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन देशभर वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधि र अनुष्ठानपूर्वक मनाइँदै छ ।
सत्ययुगदेखि चल्दै आएको मानिने यस पर्वका अवसरमा अध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि बिहानैदेखि देशका विभिन्न नदी, तलाउ, पोखरी र कुण्डहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ ।
आजको दिन बिहानै जलाशयमा स्नान गरी वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना र तर्पण दिने परम्परा छ । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीहरूले वैदिक मन्त्रोच्चारणका साथ पुरानो जनै त्यागी मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिरहेका छन् ।
शास्त्रीय मान्यताअनुसार जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुनुका साथै मानिस अनुशासित र विवेकशील बन्दछ। पौराणिक कालमा श्रीराम, श्रीकृष्ण, शिव, ब्रह्मा तथा नारीहरूले समेत जनै धारण गर्ने गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
आजकै दिन गुरु-पुरोहितको हातबाट नाडीमा मन्त्रिएको रक्षासूत्र (काँचो धागो वा डोरो) बाँध्ने गरिन्छ। भविष्यपुराण अनुसार देवगुरु बृहस्पतिको सल्लाहमा देवराज इन्द्रले दानवराज बलिलाई बाँधेर देवगणको रक्षा गरेको स्मरणमा ‘येन बद्धो बलीराजा…’ मन्त्रोच्चारण गर्दै रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ ।
यसैबिच, विशेष गरी तराई क्षेत्र र भारतमा बढी प्रचलित ‘राखी’ पर्व अहिले देशभर लोकप्रिय बनेको छ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै नाडीमा रङ्गीचङ्गी राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिई रक्षाको वचन दिने गर्दछन्। यसले पारिवारिक तथा भ्रातृ सम्बन्धलाई थप गाढा र प्रगाढ बनाउने विश्वास गरिन्छ ।
