काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका आफ्ना तीन प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।
रूपन्देहीका सन्तोषकुमार पाण्डे, लुम्बिनीकी हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरलाई पार्टीले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मंगलबार केन्द्रीय कार्यालयबाट महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमार्फत उनीहरूसँग स्पष्टीकरण मागिएको जसपा नेपालले जनाएको छ।
यसअघि भदौ १ गते जसपा नेपालले तीनै सांसदलाई लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो। तर उनीहरूले पार्टी निर्णयविपरीत सरकारको पक्षमा मतदान गरेपछि सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको थियो।
सांसदहरूले बुझाएको पहिलो स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय र निर्देशनको भावनासँग मेल नखाएको तथा उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको निष्कर्षमा पार्टी पुगेको छ।
पुनः माग गरिएको स्पष्टीकरणमा पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने भन्नेबारे जवाफ दिन भनिएको छ। साथै, पार्टी निर्णयविपरीत सदस्यले कार्य गर्न मिल्ने वा नमिल्ने र आफूले गरेको कार्यलाई पार्टी विधानअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा पेस गर्न निर्देशन दिइएको छ।
तोकिएको २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने जसपा नेपालले चेतावनी दिएको छ।
पार्टीले आफ्ना नीति, निर्णय र निर्देशन पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेको भन्दै त्यसको उल्लंघनलाई गम्भीर रूपमा लिने संकेत गरेको छ।
